सप्तरी नापीका प्रमुख सर्वेक्षक ठाकुर र लेखनदास यादव घुस रकमसहित पक्राउ

सप्तरी कञ्चनरुप नगरपालिका–४ नापी कार्यालयका निमित्त कार्यालय प्रमुख सर्वेक्षक हरिचन्दर ठाकुर र लेखनदास अरुण कुमार यादवलाई सेवाग्राहीबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १५ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ।

आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ । जग्गा कित्ताकाट गरिदिने भनी लेखापढी व्यवसायी यादवमार्फत सेवाग्राहीसँग घुस लिएको भन्ने उजुरी तथा निवेदनका आधारमा उनीहरूलाई समातिएको इटहरीस्थित आयोग कार्यालयका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।

पक्राउ परेका दुबै जनालाई अख्तियारको टोलीले इटहररीको कार्यालय लगेको बुझिएको छ । पछिल्लो समय प्रदेश २ मा घुस रकमसहित कर्मचारीहरु धमाधम पक्राउ पर्न थालेका छन् ।