सप्तरीमा एड्सबाट १६ वर्षीया किशोरीको मृत्यु, १२ वर्षीय भाइ पनि संक्रमित

सप्तरीमा एचआइभी एड्सबाट एक किशोरीको मृत्यु भएको छ ।

सप्तरीको राजविराज नगरपालिका-१ चनौरा निवासी १६ वर्षीया अमैया धामीको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रञ्जित झाले जानकारी दिए ।

एचआइभीको कारण किशोरीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि दुई साताअघि गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । नौ वर्षअघि एचआइभी एड्स संक्रमणबाटै उनका बाबुआमाको पनि मृत्यु भएको आफन्तले बताएका छन् । संक्रमित बुवाआमाबाट जन्मिएकी छोरीको समेत सोही कारणले मृत्यु भएको डा.झाले बताए ।

किशोरीकी आमाको मृत्यु विसं २०६८ वैशाख १ गते एचआइभी एड्सबाट भएको थियो । त्यसको तीन दिनपछि बुबाको समेत सोही कारणले मृत्यु भएको बताइएको छ ।

मृतक अमैयाका १२ वर्षीय भाइसमेत एचआइभी एड्सबाट पीडित छन् । उनले नियमित औषधि खाने गरेको पारिवारिक स्रोतले जनाएको छ ।