सप्तरीमा बहुविवाह मुद्दामा अदालतबाट कैद र जरिवाना तोकिएपछि फरार भएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका ७ बस्ने २८ वर्षीय उमेश चौधरी छन् ।
इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरी टोलीले उनलाई घरबाटै पक्राउ गरेको हो ।
चौधरीकी जेठी पत्नी २१ वर्षीया पुनिता चौधरीले बहुविवाहको जाहेरी दिएकी थिइन् । जाहेरी दर्तापछि २०७६ साल भदौ ५ गते उमेशलाई प्रहरीले पक्राउ गर्दा जिल्ला अदालतले २०७६ साल भदौ ३० गते जिल्ला अदालतको आदेशले तत्काल रु ५० हजार धरौटी बुझाएर रिहा भएका थिए ।
सोही मुद्दामा जिल्ला अदालतले २०७६ साल पुस ८ गते ५ हजार जरिवाना र ११ महिना १२ दिन कैद हुने आदेश दिएको थियो ।
आदेशपछि फरार भएका उमेशलाई पक्राउ गरी जिल्ला अदालतमा दाखिला गराएर कैद भुक्तानका लागि राजविराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एव प्रवक्ता भुवनेश्वर साहले जानकारी दिए ।