काठमाडौँ। नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइरालाको गल्तीले गर्दा आँफूहरुले अहिले दुख पाउनु परेको बताएका छन्। रूपन्देही कांग्रेसले सोमबार भैरहवामा गरेको विरोधसभामा बोल्दै देउवाले कम्युनिस्टहरु आँफै राजा हुन तछाडमछाड गरेको आरोप लगाएका हुन्।
देउवाले भने, ‘गिरिजाप्रसाद कोइरालाले राजालाई हटाएर प्रचण्डलाई भारतबाट ल्याएर सत्तामा पुऱ्याए। तर प्रचण्ड आफैँ राजा हुन अघि सरे, अहिले ओली र प्रचण्ड राजाभन्दा पनि ठूलो राजा हुन खोजे, त्यहीकारण उनीहरूको झगडा भयो। अब अहिले आपसमा कुर्सीका लागि मारामार भयो।’
देउवाले आफ्नो पार्टीमा यति सम्म तल्लो स्तरको झगडा नभएको पनि बताए। पार्टी भित्र देखिएको झगडा पनि ओली ठिक कि प्रचण्ड ठिक भन्नेमा मात्र देखिएको देउवाले बताए। उनले भने, ‘हाम्रोमा त यस्तो झगडा कहिल्यै छैन, बरु उनीहरूको झगडाले हामीलाई समस्या परिराखेको छ, हाम्रै पार्टीमा कोही ओली ठीक भन्छन, कसैले प्रचण्ड ठीक भन्छन। तर हामी कतैतिर लागेर काम छैन।’
त्यस्तै देउवाले तत्काल निर्वाचन कार्यतालिका सार्वजनिक गर्न निर्वाचन आयोग समक्ष माग गरेका छन्। प्रधानमन्त्रीले संसद विघटन गरेर चुनावको मिति तोकेपनि आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गर्न ढिलाई गरेको भन्दै देउवाले आपत्ति जनाएका हुन्।
देउवाले भने, ‘निर्वाचन आयोगमाथि शंका गर्नुपर्ने बेला भइसकेको छ। किन यसले चुनावको कार्यतालिका प्रकाशित गर्दैन? सबै पार्टीलाई बोलाएर किन चुनावी कार्यक्रम दिन सक्दैन? अदालतको निर्णय पर्खने काम आयोगको होइन। अदालतले चुनाव हुँदैन भन्यो भने रोके भइगो के विग्रन्छ। आयोगले छ महिनाभित्र निर्वाचन गर्छु भनेर जनतालाई भन्नुपर्यो।’
निर्वाचन आयोगले ढिलासुस्ती गरिरहेको आरोप लगाउँदै सभापति देउवाले निर्वाचन गर्ने हो भने तयारी तिव्र बनाउन निर्वाचन आयोगलाई आग्रह गरे। उनले अदालतको निर्णय आयोगले कुर्नुको कुनै तुक नभएको पनि बताए।
‘जेठ अन्तिमसम्म ओलीले चुनाव गराउनुपर्छ। निर्वाचन आयोगको पनि त्यही काम हो। आयोग संविधान बाहिर जान सक्छ? उसलाई मतलब नै छैन। निर्वाचन आयोगलाई म यहीबाट भन्न चाहन्छु- प्रधानमन्त्री ओलीले संसद विघटन गरेको छ महिनाभित्र चुनाव गराइसक्नुपर्छ,’ उनले भने।
विगतमा जस्तो कम्युनिस्ट शक्तिसँग सहकार्य अब हुँदैन: शशांक कोइराला
काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले कम्युनिस्ट शक्तिसँग अब कुनै पनि हालतमा सहकार्य नहुने बताएका छन्। कोइरालाले विगतमा जस्तो कम्युनिस्ट शक्तिसँग सहकार्य अब काँग्रेसले नगर्ने कोइरालाले स्पष्ट पारेका हुन्।
कोइरालाले भने, ‘नेपाली काँग्रेस एकल रुपमा आन्दोलन गर्न सक्षम छ। आन्दोलनमात्र होइन काँग्रेसको आफ्नै पृथक एजेण्डा छ। त्यसैले पनि विगतमा जस्तो काँग्रेसले कम्यूनिस्ट शक्तिसँग सहकार्य अब गर्दैन।’
कोइरालाले कम्युनिस्टसँग सहकार्य गर्न वीपीले पनि नमानेको स्मरण गर्दै बीचको समयमा कम्युनिस्टसँग सहकार्य गर्दा देश जटिल स्थितिमा पुगेको बताए। उनले भने, ‘३६ सालको जनमतमा पनि कम्युनिस्टहरु आए, मिल्ने प्रयास भयो। तर, बिपीले मान्नु भएन।