अमेरिकाको ऊर्जा मन्त्रालयमा साइबर हमला (cyber attack) भएको छ । ऊर्जा मन्त्रालयले साइबर हमलाको (cyber attack) पुष्टि गर्दै उक्त हमला आमेरिकी सरकारका कुनै पनि मन्त्रालयमाथि अहिलेसम्म भएका साइबर आक्रमणमध्ये सबैभन्दा ठूलो साइबर हमलाको घटना भएको पनि पुष्टि गरेको छ ।
अमेरिकाको ऊर्जा मन्त्रालयले मुलुकका परमाणु हतियारको रेखदेख गर्ने गर्दछ । तथापि पछिल्लो साइबर आक्रमणबाट (cyber attack) परमाणु हतियार भण्डारमा कुनै पनि असर नपरेको अमेरिकी सरकारले प्रष्ट पारेको छ ।
उता माइक्रोसफ्ट कम्पनीले समेत बिहीबार आफ्नो सिस्टममा एक खतरनाक सफ्टवेयर फेला परेको जनाएको थियो ।
गत आइतबार मात्रै अमेरिकाको वाणिज्य मन्त्रालयमा समेत साइबर आक्रमण (cyber attack) भएको थियो । वाणिज्य मन्त्रालयमा पछिल्लो एक महिनादेखि साइबर आक्रमण चलिरहेको भएता पनि आइतबार मात्रै त्यो पत्ता लागेको अधिकारीहरुले जनाएका छन् ।
अमेरिकाले आफ्ना सरकारी निकायहरुमा हुने साइबर आक्रमणमा (cyber attack) रसिया जिम्मेवार रहेको आरोप लगाउने गरेको छ । तर रुसले त्यस्तो आरोप अस्वीकार गर्दै आएको छ ।
पछिल्लो साइबर आक्रमणका विषयमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन ।
तथापि नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले चाहिँ साइबर सुरक्षाको विषय आफ्नो सरकारको सबैभन्दा ठूलो प्राथमिकताको विषय हुने बताइसकेका छन् ।
बाइडनले भनेका छन्, ‘सबैभन्दा पहिले हामीले हाम्रा विरोधीहरुबाट हुने साइबर आक्रमण (cyber attack) रोक्नु पर्दछ । हामीले यो गर्नेछौँ र यो हाम्रो प्राथमिकता हुनेछ । यस्ताखाले आक्रमण गर्नेहरुले ठूलो मूल्य चुकाउनु पर्नेछ । र, हामीले यस विषयमा हाम्रा गठबन्धन तथा मित्रराष्ट्रहरुसँगै काम गर्नेछौँ ।’
अमेरिकाको सबैभन्दा ठूलो साइबर (cyber) एजेन्सीको रुपमा रहेको साइबर सेक्योरिटी इन्फ्रास्टक्चर एजेन्सीले भने साइबर आक्रमणलाई (cyber attack) निर्मूल पार्नु निकै जटिल र चुनौतीपूर्ण रहेको जनाएको छ ।
उसका अनुसार पछिल्लो साइबर आक्रमणबाट (cyber attack) महत्वपूर्ण मौलिक ढाँचा क्षतिग्रस्त भएको थियो । संघीय एजेन्सी तथा निजी क्षेत्रका कम्पनीहरुको सुरक्षामा नोक्सान पुगेको थियो र उत्तः नोक्सानीले गम्भीर खतरा पैदा गरेको छ ।
एजेन्सीका अनुसार उक्त ह्याकिङ गत मार्च महिनामै सुरु भएको हो । साइबर हमलाकारीहरुले धैर्य, परिचालन, सुरक्षा तथा जटिल ट्रेडक्राफ्टको उपयोग गरी गम्भीर साइबर आक्रमण (cyber attack) गर्न सफल भएको उसको भनाइ छ । अमेरिकी ऊर्जा तथा वाणिज्य मन्त्रालयमा भएका पछिल्लो साइबर आक्रमणबाट (cyber attack) ह्याकरहरुले कस्ता कस्ता सूचना चोरी गर्न सफल भए भन्ने चाहीँ पत्ता लागेको छैन ।
ऊर्जा मन्त्रालयका प्रवक्ताले चाहिँ साइबर हमलाकारीहरुले मन्त्रालयको बिजनेस नेटवर्कमा मात्र क्षति पूराएको दाबी गरेका छन् । परमाणु हतियारको सुरक्षाका लागि जिम्मेवार राष्ट्रिय परमाणु सुरक्षा प्रशासन अर्थात् एनएनएसएको प्रणालीमा साइबर आक्रमणबाट (cyber attack) कुनै असर नपरेको उनको जिकिर छ ।
हालैमात्र अमेरिकाको टेक्सासस्थित एक सूचना प्रविधि कम्पनी सोलरविन्डको नेटवर्क म्यानेजमेन्ट सफ्टवेयर प्रयोग गरी ह्याकरहरुले कम्प्युटर नेटवर्क ह्याक गर्न सफल भए । ह्याकरहरुले सोलर विन्ड कम्पनीका १० हजार उपभोक्तालाई भाइरसयुक्त सफ्टवेयर पठाएर अपडेट डाउनलोड गर्न लगाए । त्यस्तो सफ्टवेयर डाउनलोड गर्ने प्रयोगकर्ताहरु ह्याकरको पञ्जामा परेका छन् ।
माइक्रोसफ्टले समेत आफ्ना ४० जना प्रयोगकर्तामाथि साइबर आक्रमण (cyber attack) भएको बताएको छ । त्यसमा सरकारी एजेन्सी, थिंक ट्यांक, गैरसरकारी संस्था, प्रविधि कम्पनी लगायतका छन् । त्यसमध्ये ८० प्रतिशत उपभोक्ताहरु अमेरिकी छन् भने अन्यमा क्यानडा, मेक्सिको, स्पेन, बेलायत, इजरायल र बेल्जियमका रहेका छन् ।








