मानिस नभएको बेला दिउँसै घरभित्र प्रवेश गरेर चोरी गर्ने समूहलाई महानगरीय प्रहरी बृत्त बौद्धले नियन्त्रणमा लिएको छ।
बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक नवीन कार्कीका अनुसार नगद, सुन-चाँदी र लागूऔषधसहित सात जनालाई बुधबार पक्राउ गरिएको हो।
बौद्ध क्षेत्रमा एक वर्षदेखि दिउँसोको समयमा सुन, चाँदी र नगदलगायतका धनमाल चोरी हुने घटना हुने गरेका थिए। दिउँसै चोरी हुने गरेकाले प्रहरीले यो समूह पक्रन लामो मेहनत गरेको थियो।
विगत ९ महिनायता गरिएको ‘अपरेसन’ पछि बुधबार चोरी गर्ने समूहका ‘नाइके’ सहित सात जनालाई पक्राउ गरिएको कार्कीले सेतोपाटीलाई बताए।
बौद्ध प्रहरीबाट डिएसपी कार्की नेतृत्वको विशेष टोलीले सात व्यक्तिलाई सुन, चाँदी, नगद र लागूऔषध खैरो हेरोइनसहित पक्राउ गरेको हो।
‘दिउँसै घरबाट चोरी हुने तर समूह पत्ता लगाउन नसक्दा हामी हैरान थियौं, ९ महिनायता गरिएको अपरेसनमा चोरी गर्ने समूहलाई नियन्त्रण गर्न सक्यौं,’ कार्कीले सेतोपाटीसँग भने।
कार्कीका अनुसार पक्राउ पर्नेमा झापा जिल्ला साविक शरणामती गाविस वडा नं.५ घर भई हाल काठमाडौं-६ आरूबारी बस्ने २७ वर्षीय सोनम लामा छन्। लामा चोरीका मुख्य व्यक्ति हुन्।
उनी बौद्ध क्षेत्रमा सुनचाँदी चोरी गरी त्यहीँको श्री गणेश टन्च सेन्टरको सुनचाँदी पसलमा पुर्याउने गर्थे।
सो सेन्टरका सञ्चालक २३ वर्षीय युवराज बलु बबरा हुन्। उनी भारतीय नागरिक हुन्। उनको सुनचाँदी पसल बिना इजाजत सञ्चालन भइरहेको थियो।
प्रहरीले त्यहीँ सुन पसलबाट ५७ तोला सुन बरामद गरेको थियो। तीन तोला भने लामाको कोठाबाट बरामद गरिएको कार्कीले बताए।
बबरा सोनमले चोरी गरी ल्याएको सुनचाँदी गालेर नयाँ सामग्री बनाएर बेच्ने गर्थे।
यस्तै, सिन्धुपाल्चोक जिल्ला साविक तातोपानी गाविस वडा नं.५ घर भई हाल काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं. ८ अत्तरखेल बस्ने ३७ वर्षीय सञ्जीव तामाङ, झापा कन्काई नगरपालिका वडा नं.३ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नं.६ अरब बैंक बस्ने २५ वर्षीय सनम माझीलाई प्रहरीले पक्राउ गरेको छ।
यस्तै, झापा जिल्ला शिवसताक्षी-५ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नं.६ अरब बैंक बस्ने २३ वर्षीय विजय लिम्बू, भोजपुर पौवाटुवा गाउँपालिका-२ घर भई हाल काठमाडौं आरुबारी बस्ने ३२ वर्षीय सन्तोष विक, भोजपुर नगरपालिका-१२ घर भई हाल चाबहिल बस्ने ३५ वर्षीय सूर्यबहादुर श्रेष्ठलाई पक्राउ गरेको छ।
उनीहरुको साथबाट प्रहरीले लागूऔषध खैरो हेरोइन २७ ग्राम, ५ लाख ३२ हजार नगद, अमेरिकी डलर ६, ६० तोला ८७ लाल सुन, चाँदीका साना-ठूला टुक्रा गरि ५ किलो ६९३ ग्राम बरामद गरिएको डिएसपी कार्कीले बताए।
प्रहरीका अनुसार उनीहरूले चोरी गर्न प्रयोग गर्ने बाग्मती प्रदेश ०२-०२० प ६६११ नम्बरको स्कुटरलगायत, मोबाइल, लागूऔषध तौल गर्न प्रयोग हुने तराजु, सुनचाँदी जोख्ने तराजु र मेसिन दुई थान, गरगहना गाल्न प्रयोग हुने उपकरण पत्थरलगायत बरामद गरेको छ।








