युवतीलाई श्रीलंकामा विक्री गर्ने विश्वकर्मा पक्राउ

२४ वर्षीया युवतीलाई काकडभिट्टाबाट सिलगुडी हुदै श्रीलंकामा विक्री गर्ने अमृत नेपाल भन्ने अमृत बहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ । पीडितले दिएको जाहेरीको आधारमा प्रहरीले  झापा बुधबारे ५ घर भई हाल बुद्वशान्ती २ स्थायी घर गरी बस्ने विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।

उनले यि युवतीलाई श्रीलंकामा पुर्याएर एक घरमा बन्धक बनाई राखेको आरोप छ । विश्वकर्माले उनलाई २०७६–११–०३ गते कुवेतमा घरयासी काममा लगाई दिने भनी श्रीलंका पुर्याएको प्रहरीले जनायो ।

उनलाई श्रीलंका स्थित नेपाली राजदुताबास र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय समेतको सहयोगमा मिति २०७७ मंसिर ३० गते नेपाल फर्काउन सफल भएको थियो ।

आरोपितलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार कारवाही हुने प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोका प्रवक्ता प्रउ अनुराग कुमार द्विवेदीले जानकारी दिए ।