बैतडीमा परालको आगोमा जलेर एक बालिकाको ज्यान गएको छ।
ज्यान जाने मा जिल्लाको सिगास गाउँपालिका वडा नम्बर ३ साउनखेतका मानवीर साउदकी दुई वर्षीया छोरी रेखा साउद रहेकी छन्।
यो घटना बिहीबार अपरान्हको हो। अभिभावक काममा गएका बेला उनी चार वर्षीय दाइ सँगै खेलिरहेकी थिइन्।
सलाइसँगै खेलिरहेका दाइले घरनजिकै परालको थुप्रोमा आगो लगाए।
त्यही आगोमा परी बहिनी रेखाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नारायण प्रसाद अधिकारीले जानकारी दिए।
उनका अनुसार रेखाको आज साँझ ४ बजे घटनास्थलमै मृत्यु भएको छ।
प्रहरी टोली अहिले घटनास्थलतर्फ गइरहेको उनले बताए।
अहिले आगो नियन्त्रणमा आइसकेको उनले बताए।
परालमा लागेको आगो घरभित्र पनि सल्किँदा सामान्य क्षति भएको प्रहरीले जनाएको छ।








