बाँकेको राष्ट्रिय अनुसन्धान विभाग सहायक सूचकको हत्या आरोपमा दुई पक्राउ परेका छन्।
नेपालगञ्ज उपमहानगरपालिका-१८ बस्ने राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचक २७ वर्षीय प्रवीण थापामगरको माघ २ गते शुक्रबार बिहान साढे ९ बजे हत्या गरेको अवस्थामा शव फेला परेको थियो।
प्रवीणको शव उनको घरभन्दा साढे दुई किलोमिटर पर खेतमा मृत भेटिएका थिए। उनको टाउको तथा अनुहारमा चोट लागेको थियो।
उनको हत्यामा आरोपमा नेपालगञ्ज उपमहानगरपालिका-६ फुल्टेक्राका १८ वर्षीय विवेक परियार भक्तपुर चाँगुनारायण नगरपालिका-९ ताथलीबाट र नेपालगञ्जका अर्का युवा सुवास थापा पक्राउ परेका छन्।
परियारलाई केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)को टोलीले र थापालाई नेपालगञ्ज प्रहरीले बिहीबार पक्राउ गरेको हो।
प्रवीणको हत्यामा चार जनाको संलग्नता रहेको र अन्य दुई जना फरार रहेको ब्युरोले जनाएको छ।
प्रहरी नायब महानिरीक्षक (डिआइजी) सहकुल थापाका अनुसार हत्या हुनु अघिल्लो साँझ परियार, थापासहितका युवा गाँजा खाएर बसेका थिए।
‘उनीहरू गाँजा खाएर बसिरहेका थिए। प्रवीणले नखानू भनेर हस्तक्षेप गरेपछि उनीहरूबीच झगडा भयो। त्यसपछि प्रवीणले हिर्काएर हत्या गरेको बुझिएको छ,’ डिआइजी थापाले भने, ‘उनीहरूबीच चिनजान पनि छैन।’
झगडा भएपछि चार जना दाउराको किलोले हिर्काएर हत्या गरी फरार भएका थिए। परियारलाई थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाउने तयारी भइरहेको सिआइबीले जनाएको छ।
प्रवीण एक वर्षदेखि राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत थिए।








